त्यो क्यानभासमा जहिलै कोर्नु हौ !

मङ्गसिरको महिना; यति मात्रै भने के बुझ्नु हुन्छ ?   

लगन जुरेको छैन; तब बिहेको त कुरै भएन।   

मङ्गसिर महिनाको बिहानीपख भने चै ?

बुझिसक्नु भो होला है? तर फेरी के बुझ्नु भो; गाह्रो बनाइदिनु भो त ।

अब मैले के भन्न चाहेँ अनि हजुरले के बुझ्नु भो? त्यो मेल खाएन भने त मेरो बोलीको के अर्थ रह्यो र ? फेरी संसारमा सबै कुराको अर्थ हुनुपर्छ भन्ने पनि त छैन | कुरा सुन्दैमा खुशी भइयो भने पुग्यो; हैन र ? जीवनको अर्थ के छ र ? न मेरो जन्म मेरो आफ्नो इच्छाले भाकोथ्यो न त मेरो मृत्यु नै? मेरो लागि त यो जीवन शून्यबाट सुरु भयो अनि अन्त्यमा शून्यमै बिलायो नि | तर जीवन जिउने बहानामा मैले के के र कति कति बनाएँ? शून्यको अगाडि धेरै चिज थपे अनि पछाडि पनि तर म भने शून्यमै बिलाएँ | अनि तिनीहरु सबैको अर्थ चै के रह्यो र? अर्थहीन छ तर पनि हामी यो जीवनलाई अर्थ दिन र सार्थक बनाउन खोजिराखेका छौ, किन र के का लागी? मलाई त लाग्छ मेरा कुराहरु ठाउँसम्म पुगेन भने त्यसको के अर्थ रह्यो र?

आ’छु कति चिसो हौ पानी पनि; सोच्दा सोच्दै गिलासको पानी पोखाएछु | यो एकाबिहानै देखि पानी पनि ठण्डिएर के के नाटक देखाईराछ, के भन्न खोजिराछ? ला जा ! मैले जे बुझाउन खोजेको थिएँ, त्यो त पानी पोखिएर पो बुझाईदियो त। हो जाडो पलाईसकेको थियो | अझ उपत्यकामा त भदौबाटै सुरु हुन्छ; जाडो | जाडोको बारेमा भन्नु पर्दा सबै ठाउँमा हुन्छ होला तर यो जाडोले यस ठाउँलाई अर्कै मोहनी लाएको थियो | यस्तो मोहनी कि जुन आफैँ आफैँमा लाग्ने; मेरो मन नहुदाँ पनि | हुन त म पनि यहाँ बसेको हो नि तर किन यो ठाउँले मलाई नसोधी मोहनी लगायो; आखिरी एकपल्ट त सोधे पनि हुने | तर खै मलाई यस ठाउँले नअंगालेको पनि हो कि? त्यसैले त म यहाँ बसेको देखिसक्दिन | बिहानी र बेलुका जाडो बनाएर भगाउन खोज्छ; दिउँसो चै धुलो खुवाएर अनि फेरि कहिले सिट्ठी हावाले हानेर । के के गरेर भगाउन खोज्यो; कत्ति मिठा मिठा प्रयत्न गर्यो, गर्दैछ तर नि म गइन र जान्न पनि | त्यसले मलाई चिनेकै छैन, उसले नअँगालेर के भो त? मैले अँगालिसकेको छु।मलाई त माथि पुग्नु छ; शिखरसम्म | जाने बाटो पनि उ बाटै हो अनि न अंगाल्नु पनि कसरी? कस्तो स्वार्थी भन्ठानु होला तर होइन है; मलाई उसको कोमलताले, निश्‍छलताले अंगालेको हो | बेलाबेला उसलाई फकाउन चित्रहरु बनाउने गर्थे | बिहान मलाई भगाउदैँ गर्दा तनमन सबै ठण्डा बनाई दिन्थ्यो तर म चाहिँ चित्रहरु दिउँसोसम्म बनाएर आफूलाई र उसैलाई पनि न्यानो बनाउन खोज्थेँ | यसरी बिहानबेलुका ठुस्स परेको बेला म भने सुत्ने बेलासम्म उसलाई न्यानो बनाएरै छाड्थेँ; आफ्नो तर्फबाट प्रयत्न गर्न छाडिनँ| उसले बिस्तारै मलाई स्विकार्दै थियो या भनौँ उसले भन्दा बढी मैले उसलाई चाहेर होला बिस्तारै ठण्डा हावाले मलाई हान्न छाडेको थियो | म बिहानै उठेर आफ्नो क्यानभास तयार पार्थेँ | मेरो साथीले भन्थ्यो,”संसारकै सबभन्दा सुन्दर कला चै चित्रकला हो।” अहिले मलाई पनि त्यस्तै लाग्छ।

हरबखत म चित्र बनाउन बस्दा आफूलाई नै लाटो बनाउन खोज्ने रै’छु | एउटा बनाउन खोज्दा अर्को आफैँ हुने | म त एउटै जीवनमा दुईओटा पात्र बाँचिरहेछु | असक्षम बनेर सक्षम कुराहरु र सक्षम भएर असामान्य कुराहरु देखाउन खोजिराखेको छु | लाग्छ असामान्य कुराहरु असक्षमहरुले बेजोडले गर्न सक्ने रैछन | उनीहरुले आफूलाई यतिसम्म सक्षम ठान्छन् कि अरुले उनीहरुलाई असक्षम देख्छन् | अनि असामान्य कुराहरु चाहिँ त्यो बेलाको निरन्तर साधनाबाट आउँदो रहेछ | कसरी कला सिर्जना हुन्छ भनेर सबैभन्दा ठुलो प्रश्न हुन्थ्यो सुरुमा तर पछि पछि चाहिँ गर्दै गएपछि तरिका थाहा हुदोँ रहेछ | सायद निरन्तर साधना भनेको नि यही होला | सुरुमा एउटा सोच आएपछि चाहिँ त्यसलाई कसरी उतार्ने भन्ने ठूलो चुनौती हुने रहेछ | मैले कोरेका रेखाहरुले कथाको मोड र चिनारीहरु देखाएनन् भने, मैले कोरेका आकृतिहरुले पात्रहरु चिनाएनन् भने, मैले लेप लगाएका रङ्गहरुले उसका अनुहार उतारेनन् भने त्यो बनाएकै के मतलब भयो र? क्यानभास मात्रै भरेर के गर्ने यदि त्यसले केहि बोलेन भने; कसले सुनिदिने ? फेरी चित्रलाई हेरेर आफैँ विश्लेषक बन्न त पाइयो तर पनि आफुले सोचेको त उत्रिनु पर्र्यो नि | पछि जसले जे भनिदिन नि पायो तर यो काले कामी अथवा कामी काले हो भनेर त बुझाउन सक्नु पर्यो नि, होइन र? पछि बुझ्ने ले कामी काले थियो वा काले चै आमी कामी थियो वा कामीहरु काला भए वा काला भएर उनीहरुलाई कामी भनियो जे बुझे पनि भयो तर कामी र काला चै देखिनु पर्यो नि हैन र ? काला र कामी सोचेसी अब उनीहरुलाई उतार्नु पर्यो | तपाईंले म बोलिराखेको सुन्नु भा होला हैन तर त्यसो होइन किनभने यो मेरो मनले संकेत गरिराखेको छ | म त अहिले लाटो भैसके; अझ अपाङ्ग भैसकेको छु; सामान्य कुरा सबैले गर्न सक्दैन भन्छन्| त्यसैले त म असामान्य कुरा गर्न खोजिरहेको छु। | अनि त्यसपछि केहि घोटिन थाल्छन्; आफूमै बिलिन थाल्छन्; कोहि, केहि बनून् भन्दै आफ्नो बलिदान दिन थाल्छन्; आफू वीर क्रान्तिकारी हुँ भन्दै अनि आफ्नो बलिदानको स्वरुप रगतका रेखाले आकृति बन्दै जान्छन् | यसरी बन्छ कि मानौँ समाजवाद र पूँजिवाद उत्रिन्छ; शोषक र दमनकारीसँग क्रान्तिवीरहरु सँगसँगै उभिएर आँखामा आँखा जुधाउछन्; समाजवाद मोडियो अथवा केहि बाटो बिरायो भने लोकतन्त्रले गल्ति मेटाउँदै सिक्दै समिश्रण बनाउँछन् | विभिन्न रङ्गको पट्टि लाउँदै, अनुहार लेपाउँदै पत्रहरु चित्र भित्रै छर्लंग रङ्गजस्तै आवाज उठाउन थाल्छन् र आफ्ना भावनाहरु पोख्छन्| अनि प्रकाशको गतिसँगै आफ्नो कुराहरु फेरिरहन्छन; उसको मात्रा सँगसँगै | बुझ्नेले अर्कै बुझेका होइनन् त्यो त चित्रकारको खुबी हो प्रकाशको गतिसँगै आफ्ना कुराहरु फेर्न सक्नू | यी सबै आफै मनन् गर्दै गर्दा पो मनले भन्यो; के मा केर्छस् नि ? क्यानभास त हिजो रातिनै सक्किएको थियो | मैले कापीमा कोर्न थालेँ। पल्लो कोठाको दिदीले ढोका ढकढक्यादैँ भन्नुभयो,” बाबु यहाँ हेर्न आऊ त मेरो छोराले कस्तो राम्रो चित्र बनाएछ |” उसको छोरालाई मैले चित्र कोर्न सिकाउँथे। यसो अलि अलि पाकेट खर्च हुन्थ्यो त्यसो गर्दा | हिँड्दा हिँड्दै सोचे सानेको क्यानभास लिएर चित्र कोर्छु | तर मैले गएर हेर्दा म नै पो अचम्म परे | सानेलाई कत्ति मन पराएको यो ठाउँले; कटु लाएर दौडिनथ्यो तर पनि उसलाई कहिल्यै चिसो बनाएन यो ठाउँले | अनि अलि ईर्ष्या पलाउँथ्यो यस ठाउँको भेदभावप्रति | सानेको चित्र हेरेर मैले बुझे मसँग किन ठाउँ ठुस्किएको रहेछ | सानेले त्यसै ठाउँलाई आफ्नो क्यानभास मानेर चित्र कोर्दो रहेछ | उसको झयालमा त सँधै त्यस ठाउँले बाफको लेपन लगाउँदो रहेछ अनि सानेले त्यसैमाथि आफ्नो चित्र कोर्दो रहेछ | बाफलाई काउकुती लाग्ने रहेछ अनि बाफ छुँदा बाफ लजाएर त्यहाँबाट हट्दो रहेछ। एउटा आकृति बनाइदिदोँ रहेछ; अरुले फेरी नछुओस् भनेर| जति पटक कोर्नुपर्यो त्यति पटक बाफलाई काउकुती लगाउनु पर्ने रहेछ | केहि बाफले बाटो धेरै नै हटिदियो भने बाफलाई फेरी त्यहि फ्याल्नु पर्ने रहेछ | सानेले मलाई फू फू गर्दै बाफ फ्याल्न सिकाईरहेको थियो | गजबको कला सिकाको थियो सानेले मलाई | अझ कला भन्दा एउटा पाठ पनि पढाएको थियो | रफ स्केच गर्नु छ भने यसरी बायोडीग्रेडेबल सामानहरु पनि प्रयोग गर्दा हुने रहेछ भनेर | त्यसदिन पछि हावालाई झ्यालमा लेपाउने बितिक्कै म त्यसलाई क्यानभास मानेर कोर्न थालिहाल्थेँ | त्यसपछि त मलाई खास्सै चिसो सिट्ठी हान्न छोड्यो | चिसो सिट्ठी हन्नासाथ म बुझिहाल्थे कि मलाई क्यानभास बना भन्यो भनेर अनि त्यसपछि मलाई न चिसो सिट्ठी हान्थ्यो न त धेरै नै जाडो हुन थाल्यो | मलाई अरुजस्तै त्यस ठाउँले अंगाल्न थाल्यो र भन्यो त्यो क्यानभासमा जहिलै कोरीराख्नु है।