ट्य्या…. गर्दै कुदिरहेका दुईपाङ्ग्रेहरूको बिचमा, एउटा मोटरमा गीत घन्किरहेको थियो। कोलाहल र सङ्गीतको पनि कस्तो मिठो समायोजन, सायद गठबन्धनले पो हो कि। यस्तो चर्को घाममा त्यो भिडमा त्यत्रा मान्छे कसरी जान सकेका? सायद घामकै न्यानोपनले पो हो कि। होइन, युवा जोश पनि त हुन सक्छ। यी कुरा मेरो दिमाखमा दौँडिरहँदा म भने आफ्नै धुुनमा बिस्तारै हिँड्दै थिएँ। एक्कासी एउटा भ्यान रफ्तारमा कुद्यो, जसको एउटा भागमा महासङ्ग्राम भनेर लेखिएको थियो। सायद कुनै टि.भी. च्यानलको भ्यान होला। साँच्ची, यो त महासङ्ग्राम महिना पो त।
अत्यन्तै पृथक। पाँच वर्षमा एक पटक मात्र आउने महिना; महासङ्ग्राम महिना; हाँसो र रोदन एकसाथ बोकेर आँउछ। उम्मेदवारका मुहारमा मुस्कानका छिटा भने टिकट नपाएका प्रत्यासीका आँखामा आँशुका थोपा; क्या गज्जबको। यो महिनामा त लाग्छ सबथोक हुन्छ; चाडपर्व,भोजभतेर, घुमघाम, चलखेल, आदि। गलाभरि थेग्नै नसक्ने माला, वरिपरि थुप्रो मान्छे, छेऊमा बाजा। यो मैले कतै देखेको परिवेश हो। सुरूमा त सोँचे हैन कार्त्तिकमा कसको बिहे हुन आँटेछ? पछि पो चाल पाएँ, यो त महासङ्ग्राम महिना पो त। यो महिना छ नै यस्तो; द्वन्द्धकालदेखी राजसत्तासम्मको झल्को दिन्छ, साह्रै अचम्मको पनि; नेताले दु:ख र जनताले सुख पाउने पनि यहीँ महिनामा मात्र त हो।
पाँच वर्ष पहिले महासङ्ग्राम महिना र रामे एकसाथ अलप भए। यो महिना त फेरी फर्क्यो तर उसलाई भने त बिरामी देशको अर्थतन्त्र उकास्नै फुर्सद छैन। यस्ता रामे त लाखौँ छन् रे। रेलसँगै कुदेका सपनाले आज ३ कि.मि.को दूरीमा ६ वटा पार्टी कार्यालय भेट्छ तर अहँ अस्पताल, विद्यालय, विकास केही भेट्दैन। यी बिचमा के भएनन्? सिटामोलको अभावमा कतिका ज्यान बिलाए भने मलकै कारण कति बारी बाँझै पल्टिए। हाँस्यास्पद कुरा त अझ बहुमतको सरकार पाँच वर्षसमेत टिकेन, स्वास्थमन्त्रीलाई जनताभन्दा पाहुनाको चिन्ताले सतायो। त्यो महासङ्ग्राम महिना पछि त देशलाई राहुले नै छोएछ क्यारे,धन्नै टाट पल्टेको देश त। मैले सुनेको त, संविधान पनि मिचे रे अनि फेरी देश बेच्न समेत तम्सिए रे। यस्तै समस्यामा पिल्सिएका जनताको आवाज मैले एउटा गीतमा भेटेँ:
यो कस्तो मौनता हो बोल्दैन कोही किन?
यो कस्तो निन्द्रा हो जाग्दैन कोही किन?
कस्तो रोग हो यो?
साँच्ची नै नेपाल आमालाई सन्चो छैन। प्राकृतिक विपद् त कहिलेकाहीँ मात्र हो यहाँ, यहाँ त आमाको काखलाई नै लात हानिरहेका छन् कपुतहरूले। सिद्धान्त र विचारलाई पैतालाले टेकेर कुर्सीको लडाईँमा व्यस्त छन् लाज पचेकाहरू। कोही कोही जनता त नेताभन्दा कमका छैनन्; यिनीहरूले त जातको नाममा प्रेमको परिभाषा नै परिवर्तन गर्दिए, विचराको ज्यान पनि गएछ। दाइजोका नाममा बुद्धिजीविले बुद्धिको प्रयोग गर्न भुलेछन्। यो महासङ्ग्राम महिना पछि यो सब केेही नभइदियोस् है। राहु तिमी पनि जाऊ ल,नत्र त नेपाल आमा मर्छिन् होला।
यसपालिको महासङ्ग्राम महिनाको केही कुरा गरिहालौँ: माहोल सारै गरम छ। गुञ्जयमान् छन् सहरहरू भने गाँउगाँउमा दौडको प्रतिस्पर्धा चलिरहेछ। प्रचारप्रसार र प्रलोभनको खेतीमा कतिका धान काट्ने क्षणिक खेताला पनि भेटिए। महासङ्ग्राम महिना भएरै त होला, आजभोलि त सँधै एक्लै हुने आमाका हातहरू नमस्कार फर्काउँदा फर्काउँदै थाकिसके। ठूलाबुबा पनि बिहानै गोरू धपाउँदै बारी पुगिहाल्छन्, कोही उम्मेदवार आइ पो हाल्छ कि जोत्दिनी भन्दै। ठूल्यामा त झन् कुन चाहीँ स्वतन्त्र उम्मेदवारको प्रचारप्रसार समितिको सह-व्यावस्थापक रे, गाँस टिप्ने फुर्सद छैन, उहाँलाई। साँच्चै ,पाँच जनालाई ढुङ्गाले हान्दा एकजना त उम्मेदवार पर्छ भनेको सुन्दा हो कि झैँ पो लाग्यो। ५६४० जना त प्रत्यक्ष तर्फका उम्मेदवार मात्र रहेछन्, प्रतिनिधि र प्रदेश सभा गरेर। यति हुदाँ पनि एकदुई क्षेत्रमा त प्रतिस्पर्धी नभएकै कारण सांसद पट्काइसकेछन्। यो महिनाको अर्को विशेषता भनौँ, प्रमुख बुलेटिन महासङ्ग्रामकै समाचारले खचाखच भरिएका छन्। मतदान केन्द्र पुग्न ५ घण्टाको पैदल यात्रा, अपाङ्ग, वृद्धवृद्धा मतदानको अधिकारबाट वञ्चित हुनसक्ने। यो खबर सुन्दा मन त एकछिन गद् गद् भयो; आफैँले नगरेको विकासले आफैँलाई पिरल्ने भयो भन्दै। तर फेरि एकछिनमै अमिलो भयो सद्दे युवक कान्छा दाइलाई सम्झेर; “त्यत्रो बाटो हिँडेर को जाओस्? बेकारमा भोट हाल्न,ह्या जान्न म त।” कुल मतदाताको झण्डै ४४ लाख मतदाता कम छन् भन्ने त थाहा छ तर खै कति प्रतिशत मत खस्ने हो यसपालि? बडो जान्ने हतार छ। यो महिनाको विशेष समय त यसमा लाग्ने मेला हो। खास यो मेला नभएर जनभेला चाहिँ हो, क्यारे। एकजना हेलिकप्टर लिएर बिरामी लिन गएछन्। क्या राम्रो सुनिएको है, वास्तवमा उनी त भोट माग्न गएका रहेछन्, अनि फेरि हेलिकप्टर ल्याएकै भरमा भोट मागेका रे। कति रमाइलो। अर्को एकजना फेरि रात्रि क्लबमा भेटिएछन्, गीत पनि उस्तै बजेछ त्यहाँ; मनोरञ्जन हो कि भोट माग्ने शैली? खै। अर्का छन् आफ्नै क्षेत्र छाडेर अन्यत्रबाट उठेका, डर भनूँ या हिम्मत। किसिम किसिम देख्न पाइएछ। सायद, बालेनले पछारेकाहरू स्वतन्त्रको नामले झस्किएर पो हो कि। मलाई त यो महासङ्ग्राम महिना कहिल्यै नगइदिए नि हुन्थ्यो जस्तो लाग्छ। बेरोजगारहरूले भत्ता र पेट्रोल पाएकै छन्, गरिबले एकदिन भए पनि मिठो खाने आश छ, क्षणिक भएपनि खुशीको अर्थ जान्न पाउने छन्, घरपरिवार,इष्टमित्र सबजनाको भेटघाट पनि भइरहेकै छ। तर जानु पनि ठिकै हो, बित्थामा देशको ढूकुटीको सत्यनाश मात्र।
विरक्त लागेको मौसममा महासङ्ग्राम महिनाले उल्लास छाइरहेको छ। यहीँ उल्लासमै रम्दा बिर्सिसकेको रहेछु मैले त, गाँउलाई नै लत्याएर डाँडाघरे काकाको आँगनबाटै बाटो खनिएको; त्यही बाटो मुनिबाट गएको पहिरोले गाँउ नै सखाप पारेको।ए, काका हैन कार्यकर्ता पो। बिर्सिसकेको रहेछु खोलैै बिना पुल बनेको। बिर्सिसकेको रहेछु सहिदका सपना अनि सिमाका मर्महरू। हुन त यि दु:खहरू त बिर्सेकै राम्रो, यिसँगै भष्ट्राचार र चलखेलहरू पनि। सम्झन खोज्दै थिएँ राम्रा कार्य, मैनसँगै हराएको लोडसेडिङ्ग, चुच्चे नक्सामा उभिएका स्वाभिमानता, केही राष्ट्रिय परियोजनाको सुरूवात ; थाहा छैन त्यसको अन्त्य कहिले हुने हो? यी बाहेक खासै सम्झिनै सकिन। अनि फेरि मेरो मनको अँध्यारो झनै कालो हुदैँ गयो। यहीँ कालो मनले उम्मेदवारको गाडीलाई उनकै प्रतिस्पर्धीका कार्यकर्ताले फुटालेको देख्यो; लोकतन्त्रको खोल ओडेर त्यसलाई नै प्वाल पारिरहेछन् ब्वाँसाहरूले। इस्पिकर को आवाजले सहरलाई नै थर्काएछ; बिना स्पष्टिकरण नै प्रचारप्रसार बन्द गर्न लगाइएछ, गुहार माग्दै थिए। के हुदैँ छ खै? मैले जानेको त जित स्वच्छ र हार गर्वका साथ हुनुपर्ने हो; तर मैले केहीँ नि बुझिन; सायद महासङ्ग्राम महिना भएर होला।
अघि मैले मेलाको कुरा गरेँ, वास्तवमै यो महिनामा मेला हुन्छ; विचारको मेला; मतको मेला; सुख रोज्ने मेला। र यो मेला कान्छा दाइ र रामे सकेसम्म तिमीहरू पनि नछुटाऊ। नछुटाउनु कसैले पनि, ५ घण्टा लगाएर एकदिन हिँड्दैमा ५ जुनि फेरिन्छ भने, टुइनबाट गएर भोट हाल्दैमा पुल बन्छ भने, हेलिकप्टर लिएर मत माग्न आएका बिरामी लिन आँउछन् भने, विकास त छोडौँ केवल गाँस, बास, कपास, शिक्षा र स्वास्थको मात्र सुनिश्चितता हुन्छ भने, छाउपडीको अँध्यारो र चिसोपनले राजधानीको न्यानोपन र घाम भेट्छ भने, किन छुटाउने? जाऊ, नडराऊ, दिमाख लगाऊ, भोट देऊ, हाम्रालाई हैन राम्रालाई। बिर्सिदेऊ हिजो राति पिएका चुस्की, दाँतमा अड्केका चाम्रा छाला अनि खल्तीमा भएको हात्ती; बिर्सिदेऊ ति अनुहारहरू जसका कारण तिम्रा राम्रा अनुहारमा आँशु बगेको थियो; बिर्सिदेऊ ति मिथ्या भाषणहरू जसमा तिमी क्षणिक खुशी भेटिरहेका थियौँ; बिर्सिदेऊ स्वीजरल्याण्ड बनाउने सपना। केवल सम्झिदेऊ भर्खरै जन्मेको तिम्रो छोरा राम्रो बाटो हुदैँ राम्रो विद्धालय गएको; सम्झिदेऊ आफ्नै घरमा पानी झर्दा खोला जान नपर्ने भन्दै तिम्री छोरी रमाएको; सम्झिदेऊ बिरामी पर्दा घरसम्मै आमालाई लिन एम्बुलेन्स आएको। यी कुरा सम्झेर, बुझेर मात्र भोट हाल्नु है, रामे र कान्छा दाइ। यति गर्दियौ भने यो महासङ्ग्राम महिनाको जित हुनेछ। नत्र भने म जस्तैका मनमा छाएको अँध्यारोलाई सन्नटाले छोप्नेछ।दुई चार वर्ष त बिरामी नेपाल आमासँगै बस्नेछु तर अन्त्यमा भने विदेश नै भासिनेछु; महासङ्ग्राम महिनालाई सराप्दै।
तर म विदेश जादाँसम्म एउटा कुरा भने भइदियोस्: फ्रि भिसा, फ्रि टिकट।